काठमाडौं, साउन २८ गते।
आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रेस काउन्सिल नेपालले बुधबार राति श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको अवस्थामा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।
समाचार वा सामग्रीप्रति चित्त नबुझेमा कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने भन्दै काउन्सिलले सरोकारवाला सबै पक्षलाई त्यस्तो प्रक्रियाको प्रयोग गर्न आग्रह गरेको छ।
प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिताअनुसार काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरी लिने, छानबिन गर्ने, आवश्यक कारबाही गर्ने तथा कतिपय अवस्थामा उजुरीकर्ता र सञ्चारमाध्यम वा पत्रकारबीच संवाद तथा मेलमिलाप गराउने कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले आचारसंहिता उल्लङ्घन भएको अवस्थामा खण्डन प्रकाशन/प्रसारण, भूलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिनेदेखि सचेत गराउने, मूल्याङ्कन तथा वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, विभिन्न सुविधा वा विज्ञापनबाट वञ्चित गर्न सिफारिस गर्ने तथा गम्भीर उल्लङ्घनमा थप कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेसम्मका अधिकार तथा प्रक्रिया रहेको जनाएको छ।
साथै, प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिँदै काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्नुपर्ने जनाएको छ। प्रेस स्वतन्त्रताको नाममा हुने स्वच्छन्दताप्रति पनि पत्रकार तथा सञ्चारकर्मी सचेत हुनुपर्ने काउन्सिलको भनाइ छ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने उल्लेख गर्दै काउन्सिलले प्रेसको मर्यादा कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ।
काउन्सिलका प्रवक्ता तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा कुनै समाचार वा सञ्चार सामग्रीप्रति चित्त नबुझेमा काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षलाई विनम्र अनुरोध गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।