राजविराज, असोज १९ गते ।
कैलाश माझी : सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का २५ वर्षीय सुमन राई र सोही स्थानका २१ वर्षीय आशिष अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८३ असोज १६ गते दिउँसो करिब ३ः३० बजे खडक नगरपालिका–५ स्थित कल्भर्ट, कुस्माहा–खर्चुइया भित्री पक्की सडकखण्डमा उनीहरूलाई शंकास्पद अवस्थामा पैदल हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
प्रहरी चौकी विष्णुपुरबाट प्रहरी सहायक निरीक्षक ब्रह्मनारायण जैसवालको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरूमाथि शंका लागेपछि कानुनबमोजिम शरीर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सुमन राईले पिठ्युँमा बोकेको ‘JEEP BULUO’ लेखिएको कालो झोला जाँच गर्दा झोलाभित्र कालो प्लास्टिकका तीनवटा पोका फेला परेको प्रहरीले जनाएको छ।
ती पोकाहरू खोलेर जाँच गर्दा DIAZEPAM injection लेखिएको १२२ एम्पुल, Buprenorphine injection लेखिएको १२२ एम्पुल, Phenergan लेखिएको १२१ एम्पुल र फुटेको Phenergan को १ एम्पुल गरी जम्मा ३६६ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको छ।
उनीहरूलाई २०८३ असोज १६ गतेदेखि लागू हुने गरी सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।