काठमाडौं : लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १०१ ग्राम खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार जेठ १२ गतेदेखि जेठ १७ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा कैलालीकी ३२ वर्षीया दिपा कुमारी बिष्ट, महोत्तरीका २६ वर्षीय अमर कुमार साह, चितवनका ३६ वर्षीय सुनिल लामा, इलामकी ३५ वर्षीया संगिता बास्कोटा, काठमाडौंका ३७ वर्षीय प्रशान्त राना मगर, नुवाकोटका ३३ वर्षीय पेम्बा लामा, चितवनका ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी पूर्वका २९ वर्षीय सरोज गुरुङ, भारतको दरभंगा जिल्लाका २६ वर्षीय आकाश सिंह, सुनसरीकी २० वर्षीया जिया राई तथा मकवानपुरकी २० वर्षीया स्वस्तिका तामाङ रहेका छन्।
लागू औषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेकामध्ये सुनिल लामा र संगिता बास्कोटा यसअघि लागू औषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका थिए। उनीहरू गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा फरार भएका थिए। फरार रहेका दुवै जनालाई पुनः खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रहरी उपरीक्षक दुर्गराज रेग्मीका अनुसार लागू औषधको अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिइनेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।