इटहरी, १५ भदौ ।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–२० डम्फुचोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधजन्य ट्याब्लेट तथा क्याप्सुलसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार साँझ करिब ६ बजे डम्फुचोकमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र सामुदायिक प्रहरी बिट हलगडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा बसिरहेका दुई जनालाई शंकाका आधारमा चेकजाँच गरेको थियो।
प्रहरीले प्रदेश ०१–०३–०४७ प ११०८ नम्बरको मोटरसाइकलमा रहेका धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई हाल इटहरी–२ बस्ने २२ वर्षीय उज्वल राई र इटहरी–४ बस्ने २१ वर्षीय सविन मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।
खानतलासी गर्दा उनीहरूको साथबाट ट्रामाडोल ६१० क्याप्सुल र डिसिक्लोमाइन ६१० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।