दुबईबाट पेटमा सुन लुकाएर आएका बंगलादेशी नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ ५ गते ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याएको आरोपमा एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार फ्लाई दुबईको FZ1133 उडानमार्फत दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रासेल हाल्दर (पासपोर्ट नं. A14574588) लाई विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

मिति २०८३ साल साउन ३१ गते बिहान १०ः३० बजे दुबईबाट काठमाडौं आएका हाल्दर अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङ क्षेत्रतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीले शंका लागेर नियन्त्रणमा लिएका थिए।

प्रहरीका अनुसार सोधपुछका क्रममा उनले आफूले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए। त्यसपछि उनलाई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा लगेर पेल्भिक एरियाको एक्स–रे गराउँदा पेटभित्र शंकास्पद धातु देखिएको थियो।

शौच गराउँदा उक्त वस्तु तत्काल बाहिर ननिस्किएपछि पेटमै अड्किएर रहेको पाइएको थियो। सो क्रममा उनको स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएको प्रहरीले जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पाँच दिनसम्म अस्पतालमा भर्ना गरेर निगरानीमा राखिएको थियो। भदौ ५ गते शौच गर्ने क्रममा पेटबाट अन्दाजी १५० ग्राम तौल भएका सुनजस्तो देखिने पहेँलो, क्याप्सुल आकारका दुई थान धातु फेला परेको प्रहरीले जनाएको छ।

बरामद धातुसहित बंगलादेशी नागरिक हाल्दरलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।