धनुषा, भदौ ३० गते ।
धनुषा : धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा एक महिलाको शंकास्पद अवस्थामा मृत्यु भएपछि प्रहरीले उनका श्रीमान्लाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ भदौ २९ गते राति करिब १०ः५० बजे स्थानीय २७ वर्षीया पुनिता देवी महतो आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक उदय शम्सेर जबराको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि प्रहरीले उनको मृत्यु शंकास्पद रहेको जनाएको छ।
घटनापछि मृतकका श्रीमान् ३४ वर्षीय श्रवण महतोलाई प्रहरीले तत्काल अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। मृतकको मृत्युको वास्तविक कारण भने विस्तृत अनुसन्धान तथा आवश्यक परीक्षणपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।