डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोल्पा  डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।

आज दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्। घाइतेहरूको घटनास्थलमा उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई तीव्र बनाउन चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ भने घाइतेहरूको अवस्था र अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।