चारदिने विशेष अपरेसनमा दाङका जंगलबाट ३७ नाल भरुवा बन्दुक बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ,भदौ ४ गते ।

दाङ जिल्लाका विभिन्न जंगल तथा सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले २०८३ भदौ १ गतेदेखि भदौ ४ गतेसम्म विशेष अपरेसन सञ्चालन गरेको थियो। अपरेसनका क्रममा जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले जंगल तथा झाडीमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक फेला पारी बरामद गरेका हुन्।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित भित्री खोला सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–४ स्थित भूमेबराह सामुदायिक वनबाट ४ नाल, ल्वाङे भत्कुल सामुदायिक वनबाट १ नाल र बंगलाचुली–५ तल्लो मुर्कुटीबाट २ नाल गरी ७ नाल बरामद गरेको छ।

अस्थायी प्रहरी पोस्ट बन्गौको टोलीले लमही नगरपालिका–७ बन्गैस्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल भरुवा बन्दुक बरामद गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मलवारको टोलीले तुलसीपुर उपमहानगरपालिका–१४ स्थित दिव्य ज्योति सामुदायिक वनबाट १ नाल, इलाका प्रहरी कार्यालय हापुरेको टोलीले बबई गाउँपालिका–५ चक्ला राष्ट्रिय वनबाट १ नाल र अस्थायी प्रहरी पोस्ट नर्तीको टोलीले लमही नगरपालिका–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी पुरन्धारको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल तथा प्रहरी चौकी रामपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ हंसपुरस्थित दैलेढुंगा सामुदायिक वनबाट ५ नाल र बंगलाचुली गाउँपालिका–३ भेडाबारीस्थित राष्ट्रिय वनबाट २ नाल गरी ७ नाल भरुवा बन्दुक बरामद गरेको छ।

यस्तै, प्रहरी चौकी दुईखोलीको टोलीले घोराही उपमहानगरपालिका–१९ बाम्लास्थित पालुङ सामुदायिक वनबाट १ नाल, प्रहरी चौकी चिराघाटको टोलीले तुलसीपुर उपमहानगरपालिका–१ छोटेस्थित नवदुर्गा सामुदायिक वनबाट १ नाल र अस्थायी प्रहरी पोस्ट बेलुवाको टोलीले तुलसीपुर उपमहानगरपालिका–३ कालामारी जंगलबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ।

अस्थायी प्रहरी पोस्ट छिल्लीकोटबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१९ सुँगुर खोलास्थित कालिका सामुदायिक वनको ओडारमुनिबाट थप १ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक अवैध भरुवा बन्दुक हुन्। ती बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

विशेष अपरेसनबाट ठूलो संख्यामा अवैध हतियार बरामद भएपछि प्रहरीले जंगल क्षेत्रमा अवैध हतियारको प्रयोग तथा ओसारपसार रोक्न निगरानी थप कडा बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर के.सी.का अनुसार घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।