भन्सार छलेर ल्याइएका १२ स्कुटर वीरगञ्जमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा, भदौ

पर्सा प्रहरीले भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ भदौ १ गते दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी–पैठारी गरी ल्याइएका इलेक्ट्रिक स्कुटर अनधिकृत रूपमा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा कारबाही अघि बढाएको थियो।

सो क्रममा प्रहरीले करिब ९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भन्सार प्रक्रिया पूरा नगरी चोरी–पैठारीमार्फत नेपाल भित्र्याइएका ती स्कुटरहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली तथा चोरी–पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।