बारामा ३ वर्षीया बालिकाको हत्या, अनुसन्धानका क्रममा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा,भदौ ३ गते।

कैलाश माझी : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनामा संलग्न रहेको आशंका गरिएका १६ वर्षीय बालक र म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।

प्रहरीका अनुसार २०८३ भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्। बालिका सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए। खोजीका क्रममा बालिका मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो। घटनाको वास्तविकता पत्ता लगाउन नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको विशेष अनुसन्धान टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो।

प्रहरीले घटनास्थलको निरीक्षण, स्थानीयसँग सोधपुछ तथा उपलब्ध प्रमाणहरूको विश्लेषण गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा बालिकालाई जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले चकलेट दिएर फकाई घटनास्थलतर्फ लगेको खुलेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीका अनुसार घटनास्थलमा पुर्‍याएपछि बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनामा प्रयोग भएका अन्य साधन वा परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अनुसन्धानकै क्रममा प्रहरीले ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेका १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। साथै उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको मृत्युको घटनालाई प्रहरीले संवेदनशील र गम्भीर अपराधका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

घटनामा पक्राउ परेका १६ वर्षीय बालकको उमेरका कारण उनीमाथि लागू हुने कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइनेछ। प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण अनुसन्धानबाट खुलेपछि मात्र सार्वजनिक गर्ने जनाएको छ।

बालिकाको हत्या र जबरजस्ती करणीको घटनाले भक्तिनगर क्षेत्रमा स्थानीयवासीलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाहीका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।