काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा अभिभावकविहीन हुन पुगेका बालबालिकाको संरक्षणका लागि सरकारले ललितपुरको ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै बाढी प्रभावित बालबालिकालाई अन्य कुनै किसिमको व्यवस्थापन नगरी मन्त्रालयले सञ्चालनमा ल्याएको अस्थायी संरक्षण केन्द्रमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै बालबालिका प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्रका बालबालिकाको पालनपोषण, शिक्षादीक्षा र संरक्षणको नाममा केही व्यक्ति तथा गैरसरकारी, सामाजिक र धार्मिक संघसंस्थाले उनीहरूलाई आफ्नो जिम्मामा लिन प्रयास गर्ने, सम्बन्धित निकायमा अनुरोध तथा भनसुन गर्ने र प्रभाव पार्न खोज्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, मनोविमर्शको नाममा बालबालिकामाथि अवाञ्छित धार्मिक प्रभाव पार्न खोज्ने गतिविधिसमेत हुन सक्ने भन्दै मन्त्रालयले विपद्को अवस्थाको फाइदा उठाएर गरिने यस्ता क्रियाकलापले बालबालिकाको मनोसामाजिक तथा भावनात्मक अवस्थामा नकारात्मक असर पार्न सक्ने जनाएको छ।
बालबालिकाको उचित संरक्षण, शिक्षा र भविष्य सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रिय बाल अधिकार परिषद् अन्तर्गत रहने गरी ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रभावित बालबालिकाको प्रारम्भिक छानबिन गरी सुरक्षित रूपमा उक्त केन्द्रमा राख्ने व्यवस्था गर्न लागेको जनाएको छ। अभिभावकविहीन भएका बालबालिकालाई अन्य कुनै किसिमको व्यवस्थापन नगरी मन्त्रालयको व्यवस्था बमोजिमको अस्थायी संरक्षण केन्द्रमा ल्याउन सहजीकरण गर्न बाढी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सहयोग, समन्वय र सहजीकरणका लागि पत्राचार गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।
मन्त्रालयको २०८३ असोज २ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त पत्र पठाइएको हो। पत्रको बोधार्थ राष्ट्रिय बाल अधिकार परिषद्, पुल्चोक र गोदावरी नगरपालिका, ललितपुरलाई दिइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।