राजविराज, भदौ २६ ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।
अस्पतालले २०८३ भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिनका लागि विभिन्न समिति गठन गरिएको जनाएको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रणजित कुमार झाद्वारा जारी पत्रअनुसार छानबिन समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्म सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाइएको हो।
कामकाजबाट हटाइएकामा डा. उपादेव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्।
अस्पतालले उक्त घटनाको वास्तविक अवस्था पत्ता लगाउन गठन गरिएका छानबिन समितिको अन्तिम प्रतिवेदनपछि आवश्यक निर्णय लिइने संकेत गरेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाह, बिरामीको व्यवस्थापन तथा प्रसूति सेवासम्बन्धी व्यवस्थामाथि प्रश्न उठेको थियो। अस्पतालले भने घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।