३४० एम्पुल लागूऔषध र २५ हजार नगदसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ १५ गते ।

काठमाडौंको चाबहिलस्थित एक गेस्ट हाउसबाट ३४० एम्पुल लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले २०८३ भदौ १४ गते दिउँसो करिब ३ बजे काठमाडौं महानगरपालिका–७, चाबहिलस्थित गेस्ट हाउसमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्रहरीले उनीहरूको साथबाट ११४ एम्पुल डाइजापाम, ११३ एम्पुल फेनारगन र ११३ एम्पुल नुर्फिन गरी जम्मा ३४० एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ।

त्यसैगरी, उनीहरूको साथबाट ८ थान मोबाइल फोन र नगद २५ हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१ का ३१ वर्षीय राजिब श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–८ घर भई भक्तपुर सूर्यविनायक बस्ने २१ वर्षीया निरुता हुमागाईं र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं कुमारीगाल बस्ने २३ वर्षीय रुविन आचार्य रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज बहादुर थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।