राजविराज, भदौ १८ गते ।
सप्तरीमा एक महिलालाई विभिन्न प्रलोभन देखाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–९ कमलपुर टोल बस्ने ३२ वर्षीय दिलिप कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार २०८३ साल जेठ २५ गते सप्तकोशी नगरपालिका–१० स्थित पीडित महिलाको आफ्नै घरको कोठामा घटना भएको थियो। परिवर्तित नाम ‘कञ्चनपुर ०८३/०८४ (८)’ भएकी ३५ वर्षीया महिलालाई यादवले विभिन्न प्रलोभन देखाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ।
घटना भएपछि आरोपित यादव फरार रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि पीडितको जाहेरीका आधारमा प्रहरीले आरोपितको खोजी तथा अनुसन्धान अघि बढाएको थियो।
खोजतलास गर्ने क्रममा प्रहरीले २०८३ साल भदौ १५ गते कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर क्षेत्रबाट यादवलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका यादवविरुद्ध पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरिएको छ। अदालतबाट म्याद थप भएसँगै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य, प्रमाण तथा आरोपितको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ। आरोपितमाथि लागेको कसुर अदालतबाट प्रमाणित हुन बाँकी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।