नवलपरासी (बर्दघाट सुस्ता पूर्व), भदौ २ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीबाट प्रहरीले भन्सार छली ल्याइएको ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
प्रहरीका अनुसार भन्सार छली तथा चोरी–निकासी गरी अवैध रूपमा सामान ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट खटिएको चेकिङ टोलीले २०८३ भदौ १ गते राति करिब १२ः३० बजे कावासोती नगरपालिका–८ स्थित फलफूल चोकमा सवारीसाधन जाँच गरेको थियो।
सो क्रममा पश्चिमबाट पूर्वतर्फ नारायणगढ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक रोकी जाँच गर्दा बिल–बिजक नभएका विभिन्न प्रकारका कपडा लुकाइछिपाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानमा २ हजार १६० थान विभिन्न रंगका कुर्ता–सुरुवाल, १ हजार ५०० थान साडी तथा काँचो कपडा रहेका छन्।
प्रहरीले बरामद गरेको सामानको विवरणअनुसार—
•विभिन्न रंगका कुर्ता–सुरुवाल : २,१६० थान — २१ लाख ६० हजार रुपैयाँ
•साडी : १,५०० थान — ४ लाख ५० हजार रुपैयाँ
•काँचो कपडा : २२५ थान (६,८७५ मिटर) — १७ लाख १८ हजार ७५० रुपैयाँ
•काँचो कपडा : ३१५ थान (७,६८७ मिटर) — १९ लाख २१ हजार ७५० रुपैयाँ
प्रहरीका अनुसार बरामद सम्पूर्ण सामानको कुल मूल्य ६२ लाख ५० हजार ५०० रुपैयाँ कायम गरिएको छ।
प्रहरीले अवैध सामानसहित ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।