विश्वकप २०२६ हेर्ने लोभमा नपर्नुस्, साइबर ठगीबाट बच्न ब्यूरोको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार १ : नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत प्रचार गरिएका शंकास्पद मोबाइल एप्लिकेसनहरू डाउनलोड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

साइबर ब्यूरोद्वारा आइतबार जारी गरिएको सूचनामा पछिल्लो समय “विश्वकप २०२६ लाइभ हेर्न सकिने” भन्दै विभिन्न Android Installer (.apk) फाइलहरू डाउनलोड गर्न लगाई प्रयोगकर्ताको मोबाइलमा अनावश्यक Permission लिनुका साथै मोबाइल बैंकिङ एपहरू ह्याक गरी आर्थिक ठगी गर्ने घटनाहरू बढ्दै गएको उल्लेख गरिएको छ।

ब्यूरोका अनुसार यस्ता एपहरू इन्स्टल गरेपछि प्रयोगकर्ताको व्यक्तिगत विवरण, बैंक खातासम्बन्धी सूचना तथा मोबाइल बैंकिङ सेवामा अनधिकृत पहुँच पुग्ने जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक रहेको छ।

साइबर ब्यूरोले सर्वसाधारणलाई अनावश्यक तथा अविश्वसनीय एपहरू डाउनलोड नगर्न, विशेष गरी apk, exe, bat, sh लगायतका फाइलहरू इन्स्टल नगर्न अनुरोध गरेको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त आधिकारिक सूचनाको आधारमा मात्र बैंकिङ प्रणाली तथा एपहरू अद्यावधिक गर्न आग्रह गरिएको छ।

विश्वकप फुटबलको लोकप्रियतालाई आधार बनाएर साइबर अपराधीहरूले नयाँ–नयाँ माध्यमबाट ठगी गरिरहेको उल्लेख गर्दै ब्यूरोले सचेतनामूलक सामग्रीहरू आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत सार्वजनिक गरेको जनाएको छ।

साइबर ब्यूरोले विश्वकप फुटबल हेर्ने बहानामा हुने साइबर अपराध र आर्थिक ठगीबाट जोगिन सबै प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।