ब्राउन सुगरसहित अदालतका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । सुनसरी प्रहरीले लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक युवकलाई ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ भदौ २४ गते बिहान १०ः४० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित आफ्नै घरकोठाबाट २५ वर्षीय रुस्तम राईलाई पक्राउ गरेको हो।

प्रहरीले राईको घरकोठामा चेकजाँच गर्ने क्रममा ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ७०० मिलिग्राम फेला पारेको जनाएको छ। उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ।

राईविरुद्ध जिल्ला अदालत काठमाडौंको २०८२ पुस २३ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा १ वर्ष कैद र रु. २० हजार जरिवाना तोकिएको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईमाथि बरामद पदार्थसम्बन्धी थप अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।