विराटनगरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला, प्रहरीद्वारा सकुशल उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, भदौ ८ गतेब।

कैलाश माझी : मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि २–३ दिनको नवजात शिशु फेला परेको छ। प्रहरीले शिशुको सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ।

मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले त्यहाँ फेला परेको नवजात छोरालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्‍याएको हो।

अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणपछि हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

नवजात शिशुलाई कसले र किन मालपोत कार्यालय अगाडि छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा शिशु छाड्नुको कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान तथा खोजतलास गरिरहेको जनाएको छ।

शिशुको अवस्था सामान्य रहे पनि सार्वजनिक स्थानमा नवजात शिशु छाडिएको घटनाले बालबालिकाको सुरक्षा तथा संरक्षणको विषयमा गम्भीर प्रश्नसमेत उठाएको छ। प्रहरीले घटनाको वास्तविकता अनुसन्धानपछि खुल्ने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।