वीरगञ्ज, भदौ ९ गते ।
पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट प्रहरीले ८१.३७ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भदौ ९ गते दिउँसो करिब ३ः३० बजे शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४.७२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक हटाउँदा उक्त पदार्थको तौल ८१ ग्राम ३७० मिलिग्राम रहेको जनाइएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन्।
यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको चाबी समेत फेला परेको थियो। उक्त चाबीको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ मा रोकिराखिएको सो कारसमेत बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद लागूऔषध र कारसहित यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद पदार्थ ब्राउन सुगर नै हो वा होइन भन्ने विषयमा आवश्यक परीक्षण तथा अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।