दाङ, असार २९ ।
कैलाश माझी : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार असार २७ गते बिहान विद्यालय व्यवस्थापन समितिको निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोरा ले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी बुढाथोकीले उनको शरीरमा मोबिल छर्किएका थिए। घटनापछि उनी फरार भएका थिए।
उक्त घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुर अन्तर्गत असार २८ गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले असार २९ गते घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।