काठमाडौं, असार ४
कैलाश माझी : आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक व्यक्तिलाई प्रहरीले वाकी-टकी सेट र नवीकरण नभएको पत्रकार परिचयपत्रसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार ३ गते राति करिब ९:२५ बजे काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउण्ड क्षेत्रमा एक व्यक्तिले प्रहरीले प्रयोग गर्ने वाकी-टकी देखाउँदै आफू प्रहरी भएको भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ निवासी ४७ वर्षीय शैलेश डंगोल रहेका छन्। प्रहरीले उनको साथबाट प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी साधनमा रहेको BAOFENG ब्रान्डको वाकी-टकी सेट, सवारी साधनको ब्लुबुक तथा सूचना तथा प्रसारण विभागबाट प्रभव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधिका रूपमा जारी गरिएको तर नवीकरण नभएको पत्रकार परिचयपत्र बरामद गरेको जनाएको छ।
प्रहरीले डंगोललाई नियन्त्रणमा लिएपछि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्वरमार्फत थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।