उदयपुर, भदौ ८ गते ।
कैलाश माझी : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपरलाई रोकेर चेकजाँच गर्ने क्रममा १९९ किलो ३२० ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार गाँजा टिपरभित्र ९ वटा बोरामा लुकाइछिपाइ राखेर ओसारपसार भइरहेको अवस्थामा फेला परेको थियो। चेकजाँचका क्रममा बोराभित्र लुकाइएको गाँजा बरामद भएपछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको हो।
गाँजा ओसारपसारमा प्रयोग भएको आरोपमा टिपर चालक सोम मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद भएको गाँजा, टिपर तथा पक्राउ परेका चालकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ठूलो परिमाणमा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो र यसको ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।