उच्चस्तरीय भ्रमणले नेपाल–भारत साझेदारीमा थप ऊर्जा थप्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझ । काठमाडौं
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ले भारतका विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा दुवै देशका मन्त्रीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षहरू, विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा, जनस्तरको सम्बन्ध तथा क्षेत्रीय र बहुपक्षीय विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले हालसम्म भएका सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि, तालिम तथा क्षमता अभिवृद्धि जस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाएका छन्।

दुवै मन्त्रीले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्बन्धी भारत–नेपाल सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकोमा स्वागत गरेका छन्। उक्त सम्झौताले सीमापार अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

द्विपक्षीय वार्तापछि भारतले सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था तथा १२ वटा सांस्कृतिक सम्पदा परियोजना नेपाललाई हस्तान्तरण गरेको छ।

त्यसैगरी, सीमापार डिजिटल भुक्तानीलाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टु–पियर (पीटुपी) आबद्धताको औपचारिक शुभारम्भ गरिएको छ।

भ्रमणका क्रममा डिजिटल भाषा अनुवाद प्रविधि विकासका लागि भारतको भाषिनी कार्यक्रम र काठमाडौं विश्वविद्यालय बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा दुवै मन्त्री साक्षी बनेका थिए।

परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सँग समेत भेटवार्ता गर्नुभएको थियो।

दुवै देशले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ, व्यावहारिक र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री स्तरमा नयाँ सरकार गठनपछिको यो पहिलो भ्रमण भएकाले यसलाई द्विपक्षीय सम्बन्धको दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।