काठमाडौं, असार ३० ।
कैलाश माझी : नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापत असुल गरिने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने आशयका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत नेपाल प्रहरीले हाल केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भइरहेका यस्ता समाचार र टिप्पणीहरू तथ्यहीन तथा भ्रामक रहेको स्पष्ट पारेको हो।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत असुल गरिने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने कानुनी व्यवस्था छ। उक्त जरिवाना रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि प्रकारको अतिरिक्त शुल्क, सुविधा वा २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्ले ले जारी गरेको विज्ञप्तिमा तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ।
नेपाल प्रहरीले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न आम नागरिक, सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै, समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न पनि सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।