काठमाडौं, भदौ ७ गते ।
थाइल्याण्डबाट नेपालमा ठूलो परिमाणमा गाँजा ल्याएको आरोपमा दुई जना म्यान्मार नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार थाइल्याण्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकित यात्रुको ‘प्रोफाइलिङ’ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ ५ गते नेपाल एयरलाइन्सको उडान नम्बर RA 402 मार्फत थाइल्याण्डको सुवर्णभूमि विमानस्थलबाट नेपाल आएका दुई म्यान्मार नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले सुटकेसभित्र लुकाएर ल्याएको ८ किलो २३८ ग्राम थाइल्याण्डको गाँजा बरामद भएको छ।
पक्राउ पर्नेमा म्यान्मारको यांगौन घर भएका २७ वर्षीय Aye Thida Aung र Nay Thu Rein रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजासहित दुई थान पासपोर्ट र दुई थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले घटनाबारे जानकारी दिँदै पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।