सुनसरीमा ३ हजारभन्दा बढी लागू औषध ट्याब्लेट र क्याप्सुल बरामद, दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा, जेठ १८ ।
कैलाश माझी : सुनसरी प्रहरीले लागू औषध कारोबार तथा ओसारपसारविरुद्धको अभियान अन्तर्गत ठूलो परिमाणमा लागू औषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाको साथबाट नगद र मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ १७ गते बिहान करिब ९:३० बजे बराहक्षेत्र नगरपालिका–५ अमाहा सिमसार वनस्थित कालाबन्जार–धरान सडकखण्डमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतको अररिया जिल्ला बेलाहा निवासी २० वर्षीय दयानन्द यादव लाई पक्राउ गरेको हो।

प्रहरीले उनले चलाइरहेको BR 38 AF 2646 नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथबाट १ हजार ६९० क्याप्सुल ट्रामाडोल (TRAMADOL) र रु २७ हजार ५०० नगद बरामद गरेको जनाएको छ। बरामद लागू औषध, नगद र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

यसैगरी सोही दिन साँझ करिब ६:३५ बजे इटहरी उपमहानगरपालिका–११ सिमरवना नहर क्षेत्रबाट अर्को व्यक्तिलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी खनारबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका २० वर्षीय अभिषेक श्रेष्ठ लाई जाँच गर्दा उनको साथबाट ९८० क्याप्सुल ट्रामाडोल र १ हजार १८० ट्याब्लेट स्पासपेन (SPASPAIN) फेला पारेको थियो।

प्रहरीले बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्का का अनुसार लागू औषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँच अभियानलाई थप प्रभावकारी बनाइएको छ। पक्राउ परेका दुवै व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।