सप्तरी, असोज १८ गते ।
कैलाश माझी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ पथ्थरगडामा प्रहरी चौकी भवन तथा आवश्यक सहायक संरचना निर्माणका लागि २ करोड ४२ लाख ६४ हजार ३८ रुपैयाँ २९ पैसाको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले २०८३ असोज १६ गते प्रकाशित गरेको सूचनाअनुसार, कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई–पोर्टलमार्फत २०८३ साउन ६ गते बोलपत्र आह्वान गरेको थियो।
उक्त बोलपत्रमा रीतपूर्वक दर्ता भएका प्रस्तावहरूको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गर्दा माँ कंकालिनी कन्स्ट्रक्सन–ईस्ट नेपाल कन्स्ट्रक्सन जेभी, सप्तरीले पेश गरेको बोलपत्र सारभूत रूपमा प्रभावग्राही बोलपत्रदाताहरूले कबोल गरेको रकमको औसतसँग सबैभन्दा नजिक देखिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उक्त निर्माण कार्यका लागि जेभीले मूल्य अभिवृद्धि कर (VAT) तथा प्रोभिजनल सम (PS) सहित २ करोड ४२ लाख ६४ हजार ३८ रुपैयाँ २९ पैसा कबोल गरेको छ।
बोलपत्र मूल्याङ्कनपछि सार्वजनिक खरिद ऐन, २०६३ (संशोधनसहित) को दफा २७ को उपदफा (१) बमोजिमको कारबाही तथा दफा २७ को उपदफा (२) को प्रयोजनार्थ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।