राजविराज, साउन १७।
कैलाश माझी : सप्तरी जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार साउन १७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा भिडभाडजन्य गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरिएको जनाएको छ।
सूचनाअनुसार राजविराज नगरपालिका क्षेत्रमा पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी–थलही, उत्तरमा रुपनी रोडको बसविट्टी चोक र दक्षिणमा विष्णुपुर गाउँपालिकास्थित कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञाभित्र परेको छ।
त्यस्तै बोदेबर्साइन नगरपालिकामा पूर्वतर्फ प्रितमपुर चोक, पश्चिमतर्फ खडक पुल, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराज चोकसम्मको क्षेत्र निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। प्रशासनले जिल्लाको शान्ति, सामाजिक सद्भाव र सुरक्षा कायम राख्न सबै पक्षसँग संयम अपनाउन तथा सुरक्षा निकायलाई सहयोग गर्न पनि अनुरोध गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।