सप्तरीमा जापानिज इन्सेफ्लाइटिसको कहर, दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी,राजविराज भदौ ४ गते ।

कैलाश माझी : सप्तरीमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

जिल्लाका दुई स्थानीय तहका एक वृद्ध र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु भएको हो।

सत्यनारायण यादवको गत साउन २१ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै, शिवकुमार रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा थप तीन जनामा समेत जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको थियो। उनीहरू उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्किसकेको कार्यालयले जनाएको छ।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग भएकाले संक्रमण देखिएका क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।