राजविराज, असार १२
कैलाश माझी : सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार १० गते दिउँसो करिब ३:३० बजे प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोली गस्तीमा रहेका बेला तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित भारतको कुनौलीबाट राजविराजतर्फ जाने कालोपत्रे सडकखण्डमा रहेको प्रहरी पोस्ट नजिक सडकको पश्चिम किनारमा बोराका पोका बेवारिसे अवस्थामा फेला परेको थियो।
प्रहरीले शंकास्पद बोराहरू कानुनी प्रक्रिया पूरा गरी खोलेर जाँच गर्दा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न किसिमका किराना सामान रहेको फेला परेको जनाएको छ।
बरामद गरिएका सामानको अनुमानित मूल्य १ लाख १६ हजार ४ सय ७० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएका सबै किराना सामान आवश्यक कानुनी कारबाहीका लागि असार १२ गते राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरीमा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले सीमावर्ती क्षेत्रमा भन्सार छलि तथा अवैध आयात नियन्त्रणका लागि प्रहरीको निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको बताएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।