राजविराज, भदौ ९ गते ।
कैलाश माझी : सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा २ वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी कान्छी आमालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोलमा घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०८३ भदौ ७ गते बिहान करिब १०ः३५ बजे जाहेरवाली रुबिना खातुनकी २ वर्षीया छोरीलाई आरोपित जास्मिन खातुनले हत्या गरी घरपछाडिको झाडीमा फालेको आरोप छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले आरोपितलाई तत्काल नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
घटनापछि मृतक बालिकाकी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेकी जास्मिन खातुनलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।
घटनाको वास्तविक कारण तथा अन्य पक्षबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।