राजविराज, जेठ १८
कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले अभद्र व्यवहार र चोरी सम्बन्धी मुद्दामा तीन जना प्रतिवादीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार रुपनी गाउँपालिका–५ गढिया टोल निवासी करिब ३० वर्षीय जगरनाथ दास अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छन्। उनीमाथि गत जेठ ४ गते एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज तथा हातपात गरेको आरोप छ। घटना पश्चात फरार रहेका उनलाई जेठ १६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका–१४ निवासी करिब ३५ वर्षीय दशरथ कुमार खतवे पनि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले रुखको हाँगा तथा रुख काट्दा घरमा क्षति पुगेको विषयमा भइरहेको छलफलका क्रममा एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेका थिए। फरार रहेका उनलाई जेठ १४ गते पक्राउ गरिएको हो। यस घटनामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै चोरी मुद्दामा राजविराज नगरपालिका–४ निवासी करिब २४ वर्षीय मो. सोन पक्राउ परेका छन्। जेठ १७ गते राजविराज–६ खर्साल टोलस्थित एक व्यक्तिको घर अगाडि चरनका लागि छोडिएको खसी हराएको सूचनापछि प्रहरीले तत्काल खोजतलास गरेको थियो। खोजीका क्रममा सोही दिन प्रतिवादीलाई चोरी गरिएको खसीसहित फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पक्राउ परेका तीनै जनामाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको छ। प्रहरीले कानुन विपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।