सप्तरी,सप्तकोशी,साउन १५।
कैलाश माझी : सप्तकोशी नगरपालिकाले पछिल्लो समय देशका विभिन्न जिल्लामा भएका साम्प्रदायिक संवेदनशील घटनाक्रम र त्यसले समाजमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न गरेको छ।
नगर प्रमुख कृष्णप्रसाद ढकालको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे नगरपालिका कार्यालयमा बसेको बैठकमा नगर उपप्रमुख, सबै वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, उद्योग–व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले साम्प्रदायिक रूपमा संवेदनशील विषयहरूको समाधानका लागि नगरपालिका तथा वडा तहमा तत्काल समन्वय, संवाद र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। यसका लागि सबै राजनीतिक दल, स्थानीय समाजसेवी, धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।
त्यस्तै, सबै समुदायका धार्मिक अगुवा, स्थानीय प्रतिष्ठित व्यक्ति तथा नागरिक समाजका प्रतिनिधिहरूले सामाजिक सद्भाव, सामाजिक एकता र शान्तिको सन्देश प्रवाह गर्ने विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले समाजमा कुनै पनि प्रकारको धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत भ्रामक, अपुष्ट र उत्तेजनात्मक सामग्री प्रसारण वा साझेदारी नगर्न विशेष आग्रह गरेको छ। भाइचारा, सामाजिक एकता र शान्तिलाई प्रवर्द्धन गर्ने सकारात्मक सूचना, अडियो, भिडियो तथा सन्देशहरू नियमित रूपमा प्रवाह गर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग गरी साम्प्रदायिक द्वेष, घृणा, हिंसा वा उत्तेजना फैलाउने कुनै पनि गतिविधि नगर्न सचेत गराइएको छ।
सञ्चार माध्यम तथा पत्रकारहरूले तथ्यपरक, सन्तुलित, जिम्मेवार र शान्ति प्रवर्द्धन गर्ने समाचार मात्र सम्प्रेषण गर्नुपर्नेमा बैठकले जोड दिएको छ। भ्रामक तथा अपुष्ट समाचारलाई निरुत्साहित गर्न नेपाल पत्रकार महासंघ लगायतका सञ्चारसम्बद्ध संस्थासँग आवश्यक समन्वय गर्ने निर्णय समेत गरिएको छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन राति ८ बजेपछिका लागि मदिरा पसल, होटल तथा मदिराजन्य पदार्थ बिक्री वितरण हुने सबै पसलहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। यस्तै, संवेदनशील क्षेत्रमा अनावश्यक भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता स्थानमा सुरक्षा निकायले निगरानी र गस्ती बढाउने निर्णय पनि गरिएको छ।
बैठकले नगर क्षेत्रभित्र शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चार माध्यम तथा आम नगरवासीलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न अपिल गरेको छ। नगरपालिकाले सामाजिक एकता, पारस्परिक सम्मान र कानुनी शासनको माध्यमबाट मात्रै दिगो शान्ति सम्भव हुने उल्लेख गर्दै कुनै पनि अफवाहको पछि नलाग्न र आधिकारिक सूचनामाथि मात्रै विश्वास गर्न आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।