सुनसरी, असार २५।
कैलाश माझी : सुनसरी प्रहरीले सप्तकोशी नदीको बाँध नजिकबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बिहान करिब १ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोली नियमित गस्तीमा रहेको बेला कोशी गाउँपालिका–७ अन्तर्गत केराबारी र भाण्टाबारीको बीच क्षेत्रमा रहेको सप्तकोशी नदीको बाँध किनारमा पानीमा तैरिरहेको शंकास्पद सामग्री फेला परेको थियो।
प्रहरीले घटनास्थलमा फेला परेका कालो प्लास्टिकले बेरिएका आठ वटा पोकाहरू खोलेर जाँच गर्दा तीभित्र गाँजाजस्तो देखिने पदार्थ रहेको र तौल गर्दा जम्मा ३०८ किलोग्राम लागूऔषध गाँजा बरामद भएको जनाएको छ।
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र उक्त गाँजा कसले ल्याएको वा कसका लागि राखिएको भन्ने विषयमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार बरामद लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा सम्भावित सञ्जालको पहिचानका लागि अनुसन्धान अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओली ले घटनाको पुष्टि गर्दै बरामद लागूऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।