विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको अफवाह र अराजकता लोकतान्त्रिक शासन प्रणालीमाथिको गम्भीर खतरा भएको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले आफू मुख्यमन्त्री बनेपछि धेरै विषयहरूलाई सही मार्गमा ल्याउने प्रयास जारी रहेको स्पष्ट पारे ।
प्रदेश सरकारका कामकारबाहीलाई सकारात्मक वा नकारात्मक जे देखिन्छ, त्यो तथ्यका आधारमा भन्न पत्रकारलाई आग्रह गर्दै कार्कीले “ठिक भए ठिक, बेठिक भए बेठिक भनिदिनुहोस्” भन्दै स्वतन्त्र पत्रकारिताको पक्षमा उभिए ।
अहिले सामाजिक सञ्जालमा अभियन्ताको रूपमा उभिएका व्यक्तिहरूको विगत के थियो भन्ने खोजी गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सञ्चारकर्मीहरूलाई तथ्य राख्न आग्रह गरे । “विगत के थियो, अहिले कहाँबाट आए, त्यो देखाइयो भने जनताले निर्णय गर्न सजिलो हुन्छ,” उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको आर्थिक संकट समाधान र संविधान संशोधनका लागि भएको सहमतिको चर्चा गर्दै कार्कीले हालको सरकारले राजस्व सङ्कलनदेखि आर्थिक स्थायित्वसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको दाबी गरे ।
अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सरकार सफल भइरहेको छ, भन्दै उनले संविधानअनुसार अध्यादेश ल्याउने अधिकार सरकारसँग रहेको र त्यही बाटोबाट अघि बढिरहेको दाबी गरे ।
कार्कीले प्रजातन्त्रको नाममा छाडा अभिव्यक्तिलाई स्वीकार गर्न नसकिने भन्दै सामाजिक सञ्जाल नियमनको खाँचो रहेको उल्लेख गरे । “कुनै पनि व्यक्ति छाडा बन्नु हुँदैन, त्यसका लागि कानुन आवश्यक छ,” उनको भनाइ थियो ।
प्रदेश सरकारलाई ‘सेतो हात्ती’ भन्नेहरूलाई कार्कीले चुनौती दिँदै पहाडबाट बसाइसराइ रोक्न लागिएको विशेष कार्यक्रम र अन्य योजनाहरूको अध्ययन गर्न आग्रह गरे । “हाम्रो काम हेर्नुहोस्, आलोचना गर्नु अघि तथ्य बुझ्नुस्,” उनले भने ।
लोकतन्त्रको रक्षामा सत्य तथ्यको पत्रकारिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सञ्चारकर्मीहरूलाई ‘मिशन पत्रकारिता’तर्फ फर्कन आग्रह गरे ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।