सिरहा, भदौ १४ गते ।
कैलाश माझी : सिरहामा प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८३ साल भदौ १३ गते राति करिब ९ बजे सिरहा नगरपालिका–१५ स्थित बुधौरामा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका–७ बस्ने अन्दाजी २६ वर्षीय राकेश यादवले मोटरसाइकलको भाइजरभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल ६ ग्राम १३० मिलिग्राम रहेको र प्लास्टिक हटाउँदा ५ ग्राम रहेको छ।
लागूऔषधजस्तो देखिने उक्त पदार्थसहित यादवलाई मोटरसाइकल समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।