सांसद अमरेश कुमार सिंहद्वारा कंचनरुपमा मेयर प्रत्यासी भोला पासवानको निवासमा भेटघाट, भ्रष्टाचार र सत्ताको स्वार्थपूर्ण चरित्रप्रति कडा प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कंचनरुप, सप्तरी । संघीय सांसद अमरेश कुमार सिंहले कंचनरुप नगरपालिका–८ स्थित कन्चनरुप मेयर पदका प्रत्यासी भोला पासवानको निवासमा एक विशेष भेटघाट तथा शुभेच्छा आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छन्। भेटका क्रममा सांसद सिंहले आफ्नो भूमिकालाई राष्ट्र र जनताको सेवामा पूर्णरूपले समर्पित गरिसकेको स्पष्ट पार्दै हालको राजनीतिक प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्।

सांसद सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म स्वतन्त्र सांसदको हैसियतले संसदमा प्रवेश गरेको दिनदेखि नै नेपालको माटो र झण्डाको कसम खाएर प्रतिज्ञा गरें कि अब बाँकी जीवन देश र जनताको सेवामा समर्पित रहनेछु।”

उनले पछिल्लो समय मुलुकमा व्याप्त भ्रष्टाचार, सत्ताको चरित्र, र राजनीतिक स्वार्थप्रति आक्रोश पोख्दै भने, “भिजिट भिसाको नाममा वर्षौंदेखि मुलुकमा भ्रष्टाचार भइरहेको छ। बलिया र पहुँच भएका मानिसहरूले नै यसमा हात हालिरहेका छन्। ती मानिसहरू अब जनताबीच राक्षसको रुपमा चिनिन थालेका छन्।”

सिंहले विगतदेखि निरन्तर शासन सत्तालाई नजिकबाट नियाल्दै आएको अनुभव सुनाउँदै भने, “मैले शासनसत्ताको नाङ्गो रुप नजिकबाट देखेको छु। अहिले राजनीति जनसेवा होइन, स्वार्थको खेल बनिसकेको छ। नेताहरू आफ्ना व्यक्तिगत फाइदा र सत्ताको लोलुपतामा लिप्त छन्, जसले गर्दा मुलुक विकासभन्दा अव्यवस्थातर्फ अग्रसर छ।”

सांसद सिंहको यो अभिव्यक्तिलाई स्थानीय राजनीतिक वृत्तमा गम्भीर रूपमा हेरिएको छ। कन्चनरुपका मेयर प्रत्यासी भोला पासवानको निवासमा भएको यस भेटघाटलाई समर्थकहरूले उच्चस्तरीय सहयोगको संकेतका रूपमा व्याख्या गरेका छन्।

भोला पासवानले पनि सांसद सिंहप्रति आभार व्यक्त गर्दै आफू सधैं जनताको हित र सुशासनको पक्षमा रहेर राजनीति गरिरहेको बताए। उनले भने, “कंचनरुपलाई भ्रष्टाचारमुक्त, पारदर्शी र समावेशी नगरपालिका बनाउने मेरो सपना हो। आज सिंहज्यूको साथ र सल्लाहले मेरो हौसला झनै बढेको छ।”

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।