रथ यात्रामा सुनको सिक्री चोरी गरेर फरार रहेका युवक बाराबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, असोज १ गते ।

कैलाश माझी : सप्तरीको राजविराजमा कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको रथ यात्रामा सहभागी एक व्यक्तिको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८३ भदौ २० गते कृष्ण जन्माष्टमीको अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा निकालेर नगर परिक्रमा गरिएको थियो।

उक्त रथ यात्रामा सहभागी राजविराज नगरपालिका–१ का करिब ३५ वर्षीय रोकी झाले आफ्नो गलामा लगाएको २६.२४० ग्रामको सुनको सिक्री चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीका अनुसार घटनापछि फरार रहेका आरोपितको खोजतलास गर्ने क्रममा भदौ २९ गते बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोलबाट एक युवकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–३ सिपुरा टोलका करिब २५ वर्षीय निरज कुमार राय रहेका छन्।

प्रहरीले उनलाई कानुनबमोजिम पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको जनाएको छ। घटनासम्बन्धी जाहेरी दर्ता गरी उनलाई सप्तरी जिल्ला अदालतबाट भदौ २९ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रायमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।