राष्ट्रिय परिचय नम्बरसहित सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सप्तकोशी नगरपालिकाको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तकोशी,असार ३२।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न तथा बायोमेट्रिक रुजु गराउन सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले तोकिएको समयभित्र नवीकरण नगरे सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आउन सक्ने भएकाले सबै लाभग्राहीलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रकाशित गरेको सूचनाअनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम प्रत्येक आर्थिक वर्षमा लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि निवेदन दिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

त्यसैअनुसार २०८३ साउन १ गतेदेखि असोज मसान्तसम्म नगरपालिकाका सबै सामाजिक सुरक्षा भत्ता लाभग्राहीले सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई आवश्यक कागजातसहित नवीकरण गराउनुपर्नेछ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८३/०८४ देखि सामाजिक सुरक्षा भत्ता प्रणालीलाई थप व्यवस्थित, पारदर्शी तथा वास्तविक लाभग्राहीमा केन्द्रित बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशनअनुसार बायोमेट्रिक रुजु (Biometric Verification) अनिवार्य गरिएको छ। यससँगै अधिकांश लाभग्राहीका लागि राष्ट्रिय परिचय नम्बर (National ID Number–NIN) समेत अनिवार्य गरिएको छ।

यद्यपि नाबालक, आफ्नो हेरचाह आफैं गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक का हकमा भने राष्ट्रिय परिचय नम्बर नभए पनि सामाजिक सुरक्षा सेवा प्राप्त गर्न कुनै बाधा नपर्ने नगरपालिकाले स्पष्ट पारेको छ।

नगरपालिकाले लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयमा पुग्दा आवश्यक कागजात, सामाजिक सुरक्षा परिचयपत्र तथा अन्य आवश्यक विवरण साथमा ल्याउन अनुरोध गरेको छ। साथै तोकिएको अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आउन सक्ने भएकाले समयमै प्रक्रिया सम्पन्न गर्न आग्रह गरिएको छ।

सप्तकोशी नगरपालिकाले यो सूचना सबै लाभग्राही, परिवारका सदस्य तथा सरोकारवालासम्म पुर्‍याइ समयमै नवीकरण प्रक्रिया सम्पन्न गराउन समेत अनुरोध गरेको छ।

उक्त सूचना सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख विश्वास पोखरेल द्वारा जारी गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।