काठमाडौं : नेपाल पत्रकार महासंघ ले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार तथा निजी एवं सामुदायिक सञ्चारमाध्यमको अस्तित्वमाथि सरकारले हस्तक्षेपकारी नीति लाद्न खोजेको आरोप लगाउँदै देशभरका सञ्चारमाध्यमलाई जेठ १४ गते ‘कालो’ राखेर ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिअनुसार सरकारले पत्रकारमाथि निगरानी बढाउने, त्रास सिर्जना गर्ने, समाचार संकलनमा अवरोध पुर्याउने तथा श्रमजीवी पत्रकारको श्रम अधिकार संरक्षणमा उदासीनता देखाएको आरोप लगाइएको छ।
विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाइएको छ। उक्त निर्णयअनुसार सरकारी सूचना तथा विज्ञापन राज्यनियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने व्यवस्था गरिएको भन्दै महासंघले यसलाई विभेदकारी र स्वेच्छाचारी कदमको संज्ञा दिएको छ।
महासंघले यस्तो निर्णयले देशभरका निजी तथा सामुदायिक सञ्चारमाध्यमको दीगोपन संकटमा पर्ने र हजारौं श्रमजीवी पत्रकारको पेशागत सुरक्षामाथि प्रत्यक्ष असर पर्ने जनाएको छ।
उक्त निर्णय खारेजीको माग गर्दै महासंघले चरणबद्ध दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ। सोही आन्दोलनअन्तर्गत २०८३ जेठ १४ गते सम्पादकीय वा अन्य उपयुक्त स्थानमा कालो रंग राखेर विरोध जनाउन सबै सञ्चारमाध्यमलाई अनुरोध गरिएको हो।
महासंघले यसअघि सञ्चालन गरिएका आन्दोलन तथा दबाबमूलक अभियानमा साथ, समर्थन र ऐक्यबद्धता जनाउने सम्पूर्ण सञ्चारमाध्यमप्रति आभारसमेत व्यक्त गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।