कैलाश माझी,सप्तरी : प्रेस काउन्सिल नेपाल ले पत्रकार आचारसंहिताविपरीत गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलिरहेका अमर्यादित र भ्रामक प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले पछिल्लो समय पत्रकारिता क्षेत्रको विश्वसनीयता र मर्यादामाथि असर पार्ने विभिन्न गतिविधि बढ्दै गएको भन्दै प्रेस विज्ञप्तिमार्फत सरोकारवाला पक्षलाई सचेत गराएको हो।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहरा द्वारा जारी विज्ञप्तिमा पत्रकार आचारसंहिता प्रतिकूल गतिविधिबारे उजुरी तथा जनगुनासो बढ्दै गएको उल्लेख गरिएको छ। प्राप्त उजुरी र स्वअनुगमनका क्रममा विभिन्न गम्भीर प्रवृत्ति देखिएको काउन्सिलको भनाइ छ।
विज्ञप्तिअनुसार केही अनलाइन न्यूज पोर्टल दर्ता गरेर समाचार सामग्री नै प्रकाशन नगरी सामाजिक सञ्जाल, युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत केवल भ्यु बढाउने उद्देश्यले सामग्री सम्प्रेषण भइरहेको पाइएको छ। त्यस्तै, अनुमति बिना अस्पताल, विद्यालय तथा सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, हप्कीदप्की गर्ने तथा बालबालिकासँग अभिभावक वा विद्यालयको अनुमति बेगर अन्तरवार्ता लिई भिडियो सार्वजनिक गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले आपत्ति जनाएको छ।
काउन्सिलले समाचार वा प्रकाशित सामग्रीकै आधारमा पत्रकार तथा सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा धरपकडको प्रयास हुनु प्रेस स्वतन्त्रताविपरीत भएको स्पष्ट पारेको छ। साथै तथ्यहीन, अपुष्ट र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण गरी व्यक्तिको चरित्रहत्या गर्ने, व्यावसायिक साखमा असर पुर्याउने र त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा सेयर गरेर भ्यु बढाउने प्रवृत्ति पनि बढेको जनाएको छ।
प्रेस काउन्सिलले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा क्यामरा लिएर पुग्ने, कर्मचारीमाथि दबाब सिर्जना गर्ने, आफैं सम्झौताको कागजात तयार गरी कार्यालयमा बुझाउने जस्ता गतिविधि पनि आचारसंहिताविपरीत रहेको उल्लेख गरेको छ। सीमा क्षेत्रका केही जिल्लामा अनुमति बिना विदेशी सञ्चारमाध्यम तथा पत्रकारले गतिविधि सञ्चालन गरिरहेको र नेपाल सरकार तथा कानुनविरुद्ध भ्रामक सामग्री सम्प्रेषण भइरहेको विषयमा समेत काउन्सिलले चासो व्यक्त गरेको छ।
काउन्सिलले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय, मर्यादित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिताको पालना अनिवार्य रहेको जनाएको छ। सत्य, तथ्य, निष्पक्षता र सन्तुलनका आधारमा सञ्चारकर्म गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गर्दै कुनै पनि सामग्री सम्प्रेषणअघि तथ्य र विश्वसनीयताको परीक्षण गर्नुपर्नेमा जोड दिएको छ।
साथै, समाचार सामग्री चित्त नबुझेमा कानुनी तथा संस्थागत प्रक्रियामार्फत काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहेको स्मरण गराउँदै पत्रकार तथा सञ्चारमाध्यममाथि धम्की, गालीगलौज, धरपकड वा दबाब सिर्जना नगर्न पनि सबै पक्षसँग आग्रह गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।