बारा । बाराको पचरौता नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार १३९ किलो गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ साल भदौ २० गते राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया, बाराबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, बीओपी बेनौलीबाट खटिएको संयुक्त गस्ती टोलीले पचरौता नगरपालिका क्षेत्रमा गस्ती गरिरहेको थियो।
गस्तीका क्रममा बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतको आलीमा ९ जना मानिसहरू झोलाजस्तो पोका बोकेर आउँदै गरेको अवस्थामा प्रहरी टोलीले देखेको थियो।
प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि ती व्यक्तिहरूले आफूले बोकेका पोका धानखेतमै फालेर फरार भएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले खेतमा छाडिएका पोकाहरू नियन्त्रणमा लिएर जाँच गर्दा लागूऔषध गाँजा रहेको खुलेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा ९ वटा पोकामा रहेको थियो। जुटको बोरासहित तौल गर्दा यसको कुल वजन १५१ किलो पुगेको थियो भने जुटको बोरा हटाएर पुनः तौल गर्दा १३९ किलो गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको छ।
गाँजा बोकेर आएका ९ जना व्यक्ति भने प्रहरी टोलीलाई देखेपछि फरार भएका छन्। फरार व्यक्तिहरूको खोजतलास भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती तथा निगरानीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।