पोखराको लामागाउँमा मोटरसाइकल पोल र बसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, भदौ ६ गते ।

कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लामागाउँस्थित सडकमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. समेत दुर्घटनामा घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस तथा बस चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा निवासी २४ वर्षीय अभिषेक परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक र बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।