फेसबुक दुरुपयोग प्रकरण: राजु जयसवाल नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज — जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीले विद्युतीय अपराध मुद्दामा एक जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मिति २०८३ बैशाख ०९ गते रुपनी गाउँपालिका–१, सप्तरीका ४१ वर्षीय राजु जयसवाल (किरण कुमार जयसवाल) लाई पक्राउ गरिएको हो। उनीमाथि सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले अश्लील तथा अपमानजनक सामग्री पोस्ट गरेको आरोप रहेको छ।

जाहेरीअनुसार प्रतिवादीले रुपनी गाउँपालिकाका अध्यक्षसँग सम्बन्धित व्यक्तिको नाम र फोटो प्रयोग गरी नक्कली फेसबुक आइडी सिर्जना गरेका थिए।

उक्त आइडीमार्फत अश्लील शब्द प्रयोग गर्दै अपमानजनक पोस्टहरू राख्नुका साथै अन्य व्यक्तिहरूलाई शेयर तथा ट्याग गरेर सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने कार्य गरेको आरोप लगाइएको छ।

यस घटनापछि दिनेश कुमार यादवले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका जयसवाललाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार विद्युतीय अपराध जस्ता संवेदनशील विषयमा कडा निगरानी राखिएको छ र यस्ता कार्यमा संलग्न जो–कोहीलाई पनि कानूनी दायरामा ल्याइनेछ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र जिम्मेवार ढंगले प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।