नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,भदौ ४ गते।

कैलाश माझी : सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ बस्ने १९ वर्षीय सुदिप कटुवाल रहेका छन्।

नाबालिकालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरेर चरित्र हत्या गर्ने र रकमसमेत माग गरेको विषयमा साइबर ब्यूरोमा निवेदन परेको थियो।

प्राप्त निवेदनका आधारमा ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा कटुवालको पहिचान खुलेपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ भदौ ३ गते पक्राउ गरेको हो।

पक्राउ परेका कटुवाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सात दिनको म्याद थप गरिएको साइबर ब्यूरोले जनाएको छ।

म्याद थपपछि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालमा नाबालिका तथा अन्य व्यक्तिलाई प्रलोभनमा पार्ने, अश्लील सामग्रीको दुरुपयोग गर्ने, चरित्र हत्या गर्ने वा रकम माग गर्ने गतिविधिविरुद्ध प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइने गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।