चितवन, साउन २६ गते।
कैलाश माझी : चितवनमा मर्निङवाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार बोटे सोमबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। केही समयपछि उनी एक्कासी सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए।
यसै क्रममा बिहान करिब ८ बजे जितपुर क्षेत्रमा बाघ देखिएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासनको टोली तथा स्थानीय जनप्रतिनिधिको समन्वयमा हात्ती प्रयोग गरी बोटेको खोजी तीव्र पारिएको थियो।
खोजी गर्ने क्रममा सोमबार दिउँसो करिब ४ः२० बजे घटनास्थलबाट ४/५ किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको शव मृतकका छोराले आफ्ना बुवा मंगले बोटेको भएको सनाखत गरेका छन्।
घटनापछि सम्बन्धित निकायले घटनास्थलको अवस्थाबारे आवश्यक अनुसन्धान तथा थप प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।