राजविराज, साउन २६ गते।
कैलाश माझी : सप्तरीमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका एक पुरुषविरुद्ध अभद्र व्यवहार मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदाले गत साउन २० गते साँझ करिब ६ बजे मादक पदार्थ सेवन गरी आफ्नी ५२ वर्षीया श्रीमती फुलकुमारी सदालाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरेको आरोप छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते फुलकुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले कोसिया सदालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामार्फत अभद्र व्यवहार मुद्दामा सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो।
तर, उपचारका क्रममा साउन २४ गते बिहान करिब ३ः३० बजे फुलकुमारी सदाको प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
फुलकुमारीकी छोरी लिला सदाले दिएको जाहेरीका आधारमा यसअघि दर्ता भएको अभद्र व्यवहार मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। आरोपी कोसिया सदामाथि सप्तरी जिल्ला अदालतबाट पुनः म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेले साउन २६ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।