लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज २ गते ।

कैलाश माझी : पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै नेपाल पत्रकार महासंघले असहमति जनाउँदै देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

महासंघले सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्ने विज्ञापन रकममा कटौती गरिएको भन्दै उक्त कार्यविधि खारेज गर्न माग गर्दै आएको जनाएको छ।

महासंघका अनुसार कार्यविधि खारेज गर्न सूचना तथा सञ्चारमन्त्रीसमक्ष भदौ २५ गते माग राखिएको थियो। साथै, समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते पत्राचार गरिएको थियो।

तर आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले तीन दिनभित्र माग पूरा नभए असोज ५ गते सोमबारदेखि देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको महासंघले जनाएको छ।

महासंघले लोककल्याणकारी विज्ञापनसम्बन्धी विषयमा महालेखापरीक्षकको कार्यालयले बेरुजु नदेखाएको तथा प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धि गर्न सिफारिस गरेको विषयलाई समेत आधार बनाएको छ।

समस्या समाधानका लागि महासंघले शुक्रबार पुनः सूचना तथा सञ्चारमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ।

महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गर्दै त्यसो हुन नसके बैठकको निर्णयअनुसार पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलन सञ्चालन गर्ने जनाएको छ।

आन्दोलनमा सहभागी हुन महासंघ मातहतका समिति तथा सम्बन्धित सरोकारवालालाई समेत महासंघले आह्वान गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा आन्दोलनको निर्णय सार्वजनिक गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।