लहानमा बेवारिसे अवस्थामा ६० किलो गाँजा जस्तो देखिने पदार्थ फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा । सिरहाको लहान नगरपालिका–१८ भदैया बिसनपुर मुसहरी टोलस्थित धान खेतबाट प्रहरीले ६० किलो लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ असोज १८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सोही दिन बिहान करिब ९ः३० बजे प्रहरी चौकी लहानबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा धान खेतमा बेवारिसे अवस्थामा प्लास्टिकका तीनवटा बोराभित्र लुकाइछिपाइ राखिएको उक्त पदार्थ फेला पारेको हो।

प्रहरीका अनुसार बोरा सहित उक्त पदार्थको कुल तौल ६१ किलो ५४० ग्राम रहेको थियो। बोरा हटाउँदा ६० किलो लागूऔषध गाँजा जस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पदार्थ रीतपूर्वक बरामद गरी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याएको जनाएको छ।

बरामद पदार्थ कसले र कहाँबाट ल्याएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।