कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा, साउन २८ गते।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५, खरुक्याही बस्ने अन्दाजी ८० वर्षीय ठकाई यादव रहेका छन्।

२०४१ साल वैशाख १ गते साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाको अवसरमा मन्दिरमा बरोका चढाउने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। उक्त विवादमा ठकाई यादवसमेतका व्यक्तिहरूले योजना बनाई भारतबाट पहलवान (कुस्ती खेलाडी) समेत बोलाएको र विवादपछि स्थानीय रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरी कर्तव्य गरी हत्या गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनामा ठकाई यादवलाई सम्मानित उच्च अदालतको २०४६ साल पुस २५ गतेको फैसलाबमोजिम एक वर्ष कैद सजाय तोकिएको थियो। तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार रहेका थिए।

फरार प्रतिवादी यादव आफ्नै गाउँस्थित मन्दिरमा साधुबाबा (पुजारी) को भेषमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले आज साउन २८ गते मन्दिरबाटै फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न रही वारदातपछि फरार रहेका अन्य ११ जना प्रतिवादीको भने हाल मृत्यु भइसकेको बुझिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।